काठमाडौं,८ भदौ । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अस्पतालबाट डिस्चार्ज भएकी छन् । गत सोमबार आकस्मिकरुपमा काठमाडौंको गंगालाल हृदय केन्द्रमा भर्ना भएकी दनुवार तीन दिन अस्पताल बसाईपछि डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।
गत सोमबार प्रदेश सभाबाट कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची तय भएपनि अस्वस्थ भएपछि बैठक छोडेर काठमाडौं आएकी दनुवार अस्पताल भनाए भएकी थिईन् । उनलाई पहिल्यैबाट थाइराइड र प्रेसरको समस्या रहेको बताइएको छ ।
हाल प्रदेश सभाको नेतृत्व गरिरहेकी दनुवार काठमाडौं आएपछि कांग्रेसका सांसद इस्राइल मन्सुरीले अध्यक्षता गरेर थापाले विश्वासको मत लिएपछि एमालेले अदालतमा रिट दर्ता गरेको थियो । उक्त रिट बिहीबार प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले थापा नेतृत्वको सरकारले लिएको विश्वासको मत अवैधानिक भएको फैसला गरेको छ ।
स्रोतका अनुसार अहिले दनुवारको स्वास्थ्य अवस्थामा सुधार आएको छ । तर, चिकित्सकले १ हप्तापछि फेरि फलोअपमा आउन भनेका छन् । उनीहरूले ‘स्ट्रेस नलिन’ सुझाव दिएका छन् । एक हप्ताको फलोअपपछि चिकित्सकको सल्लाहका आधारमा विराटनगर फर्किनेबारे निर्णय लिने बताइएको छ ।