Logo

सामाजिक सद्धभाव जोगाउन धरानमा क्रियाशील १३ दलको सामूहिक अपील



काठमाडौं,८ भदौ । सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरुले सामाजिक सद्धभाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् ।

शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्धभाव नभड्काउन अपील गरेका हुन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेससपा इन्चार्ज दिनेश राई, सलोराम इन्चार्ज भुपेन्द्र सुन्दर लावती, राजमुपा नेपालका उपमहासचिव विष्णु थाम्देन, खिसपा अध्यक्ष भुपी कायी र विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ ।

१३ राजनीतिक दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ
‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी बातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

धरानमा केही दिनअघि गोरु काटेर भोज खुवाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले धरानमा जताततै अशान्ती फैलिएको छ । सम्भावित भवितव्यलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले आज राती १२ बजेदेखि लागू हुनेगरि २४ घण्टासम्म निषेधाज्ञा जारी गरेको छ । भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आज एक अपील जारी गर्दै सामाजिक सद्धभावलाई ख्याल गर्न आग्रह गरेका छन् ।

यस्तो छ १३ दलले संयुक्तरुपमा जारी गरेको अपील 

 



प्रतिक्रिया दिनुहोस्