काठमाडौं,८ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा आफूसँग कुनैपनि सूचना भएको उपलब्ध गराउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सार्वजनिक अपील गरेको छ ।
शुक्रबार ब्यूरोले एक सूचना जारी गरी गिरोहले भन्सार छली ल्याएको सुनबारे सूचना उपलब्ध गराउन भनेको हो ।
सूचनामा भनिएको छ, ‘आम नागरीकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा गर्दछौ ।’
कसैसँग केही सुचना, तथ्य वा प्रमाण भए ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाएर सहयोग गर्न भनिएको छ । व्यूरोका सुचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ समेत उपलब्ध गराइएको छ ।