Logo

आईओईका पदाधिकारीलाई स्ववियु सभापति ढुङ्गेलको सुभाव ‘डिन कार्यालय बचाउने बहानामा शुल्क वृद्धि नगर्नुस्’



काठमाडौं, ८ साउन । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका सभापति एवं त्रिवि सभाका आमन्त्रित सदस्य विष्णु ढुङ्गेलले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले अस्वभाविक रुपमा गरेको शुल्क वृद्धिको निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् ।

आईओईले गरेको शुल्क वृद्धिको विरोधमा नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ आमरण अनशनमा छन् । शुल्क वृद्धिको विरोधको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगेका ढुङ्गेलले कसैलाई लागेकै भरमा शुल्क बढाउन नपाईने बताए ।

‘अघिल्लो वर्षसम्म त्यही पैसाले यो संस्था रनिङ भइरहेको थियो । तर, एक्कासी उहाँको मगजमा लाग्यो, उहाँको दिमागमा लाग्यो शुल्क वृद्धि गरेपछिमात्रै आईओईले क्वालिटी दिन सक्ने हो वा त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनसक्छ भन्ने उहाँहरुको बुझाई हो भने त्यो कदापी पनि सही होईन,’– उनले भने ।

देशमा शिक्षा महँगो भएका कारण लाखौं युवाहरु विदेशिने गरेको उनको भनाई छ । त्रिविअन्तर्गतको आईओृईले पुरानो मोडलका एजुकेशन सिस्टम बेचेर पनि शुल्क बढाएर विद्यार्थीहरुलाई जिस्काउन खोजेको उनले बताए ।

‘उहाँहरुले बुझ्नुपर्छ यसै त यो देशमा विदेशिने लाखौं युवाहरु छन्, उहाँहरुले यस्तो पुरानो मोलडको एजुकेशन सिस्टम बेचिरहनु भएको छ, यसमा पनि अस्वभाविक रुपमा शुल्क वृद्धि गरेर विद्यार्थीहरुलाई जिस्काइरहनु भएको छ,’– उनले भने ।

संविधानमा शिक्षाको हकको व्यवस्था हुनु विद्यार्थी आन्दोलनको उपलब्धी भएको नविर्सन उनले चेतावनी दिए । उनले त्रिवि र आईओईका पदाधिकारीको काम राजनीति गर्ने नभएको बताउँदै शिक्षासँग सम्बन्धित र प्राज्ञिक काममात्रै गर्न आग्रह गर । राजनीति गरेर सबै कुरा विग्रिएको भन्दै उनले जागिर खाएर, नियु्क्ति खाएर राजनीति नगर्न उनले चुनौति दिए ।

विद्यार्थी संगठनहरुलेभन्दा बढी राजनीति त्रिवि र आईओईका शैक्षिक प्रशासकहरुले गरेको उनको आरोप छ । विद्यार्थी संगठनलाई धेरै नजिस्काउन उनले त्रिवि र आईओईका पदाधिकारीलाई चुनौति दिए ।

‘सबैभन्दा बढि नेताहरुको गुलाम गर्ने र भन्न चाहिँ विद्यार्थी संगठनहरुले संस्थालाई ध्वस्त पारे भन्ने ? नजानिदो पाराले धुमाएर यिनीहरुले यो संस्थालाई धमिरा लगाइराखेका छन् । हामीलाई धेरै नजिस्काउनुस्, तपाईँहरुलाई घिसारेर सडकमा ल्याउन सक्ने दम अहिले पनि विद्यार्थी आन्दोलनसँग छ ।

आईओईले विद्यार्थी संगठन कसैसँग पनि सल्लाह र समन्वय नगरी मनोमानी ढंगले बढाएको शुल्क भारी पर्ने उनको भनाई छ । अबको विद्यार्थी आन्दोलन ढुंगा मुडामा नभएर प्रत्येक बुँदामा छलफल गरेर के कारणले शु्ल्क बढेको हो भनेर बहस गर्न सक्षम रहेको उनले बताए ।

२०८० साल श्रावण २५ गतेको निर्णयअनुसार इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.र बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

आईओईले २ लाख ८० हजारबाट शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्