Logo

कांग्रेस चीर निन्द्रामा छ, व्युँझिएको दिन सरकारको आयु सकिन्छः शेरबहादुर तामाङ



काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अध्यक्षतामा भएको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निश्कर्षमा पुर्याउन नसक्ने बताए ।

उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरुलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरुलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निश्कर्ष रहेको बताए ।

शरणार्थी प्रकरणमा अदालतमा पेश भएका प्रतिवेदनले अन्तिम निष्कर्ष दिन नसक्ने उनको दाबी छ । वर्तमान सरकारले यदि सुशासनको नेतृत्व गरेको हो भने शरणार्थी प्रकरणलाई अन्तिम निश्कर्षमा पुर्याउन जरुरी रहेको उनको भनाई छ ।

त्यसैगरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरु सबै आर्थिक लाभकै कारण संलग्नता नभएपनि न्यायिक प्रश्न उठेपछि न्यायिक कशीमा जाँचिनुपर्ने उनले बताए । ‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौं, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्यो भनेर म भन्दिन । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटी न्यायिक कशीमा जाँचिनु पर्दछ,’– उनले भने ।

ललिता निवास प्रकरण पनि अधुरै रुपमा सम्पन्न गर्ने परिस्थिति बनेको उनको भनाई छ । उनले सरकारले विभिन्न प्रकरणको छानविनमा जोडिएका प्रहरी अधिकारीलाई विना कारण सरुवा गरेको बताए । उनले सुन तस्करी प्रकरणमा पनि सरकारले अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई रातारात सरुवा गरेर उक्त प्रकरण ढाकछोप गर्न खोजेको बताए ।

‘सुन प्रकरणमा पनि त्यही हो । अध्यनन अनुसन्धानमा रहेका प्रहरी प्रमुखहरुलाई वास्तवमा के यस्तो आईपर्यो र रातारात सरुवा गर्नपर्यो,’– उनले भने ।

नेपालमा प्लेन चढाएर गाडिको पार्सहरु ल्याउन नपर्ने उनको भनाई छ । त्यस्ता प्रकृतिका सामनहरु यो छ महिनाको अवधिमा १५ हजार किलो आएको उनले बताए । सुन प्रकरणमा सरकारले केहीलाई कारबाही गरेको जस्तो गरेर वास्तविक अपराधी उम्काउन खोजेको बताए ।

छ महिनाभित्र प्लेनबाट आएको त्यस्ता प्रकृतिका सामानहरुको छानविन गर्न आवश्यक रहेको उनले बताए । सरकारले सुशासनको स्टन्टबाजी नगर्दा नै राम्रो हुने उनको सुझाव छ ।

अहिले अदालत, न्यायालय र व्यवस्थापिकामाथि समस्या पैदा भएको भन्ने प्रश्न उठेको उनले बताए । न्यायाधीश नियुक्तिमा भाग बन्डामा गर्दा प्रश्न चिन्ह उठेको उनको दाबी छ । न्यायाधीशहरु नियुक्त भएर कुर्सीमा बसेपछि पनि पार्टीको रंग कायम रहेको उनले बताए । उनले दलको रंगको आधारमा नियुक्त भएको न्यायाधीशको निर्णय पनि रंगकै आधारमा हुने गरेकोे बताए ।

संसद् विकास कोषमाथि अदालतले हस्तक्षेप गर्दा सत्ता गठनबन्धनका नेताहरु आक्रोशित भएको बताउँदै उनले न्यायिक निर्णयलाई सबैले स्वीकार गर्न आवश्यक रहेको बताए । संसारमा कहिल्यै पनि भ्रष्टाचार शून्य नहुने बताउँदै नेता तामाङले कर्मचारी र राजनीतिक दलका नेता सबैको सम्पत्ति छानविन भएमा ७०÷८० प्रतिशत भ्रष्टाचार कम हुनसक्ने बताए ।

अहिलेको सरकारको आयु कांग्रेस व्युँझिएको दिनसम्ममात्रै बाँकी रहने उनको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले काही व्युँझिएकोजस्तो गर्यो भनेपनि भष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए । ‘कांग्रेस अहिले व्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काही व्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने ।

कांग्रेस नव्युँझिएकै कारण कोशी प्रदेश सरकार गठनका क्रममा संविधान उल्लङ्घन भएको उनले बताए । उनले अहिले कांग्रेस सुतिरहको र देशमा के भइरहेको छ भन्ने केही पनि थाहै नपाएको बताए । त्यसैले देशको प्रमुख र पहिलो पार्टी यस्तो ढंगले किकर्तव्यविमुढ बनेर बस्न नहुने उनको भनाई छ ।

मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको उनको भनाई छ । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उनले बताए । ‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु्, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौं भने करिब–करिब दुई तिहाईको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ,’– उनले भने ।

नेपालमा अहिले पछिल्लो समय धार्मिक र जातीय द्वन्द्व फैलिने वा फैलाउने खालको गतिविधि सुरु भएको भन्दै उनले दुःख व्यक्त गरे । सबैले सचेततापूर्वक यस्तो स्थिति हुन नदिन मुलकका सबै धार्मिक सम्प्रदायहरु, सबै जातीय समुदायहरु संयम हुन आवश्यक रहेको उनको भनाई छ । ‘मुलुकको धार्मिक सहिष्णुता र जतीय एकता कायम गर्न सबै संयम भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

कुनै पनि धर्मले हिंसालाई प्रश्रय नदिएको र धर्मको उत्पत्तिको आधार हिंसा नभएको बताउँदै उनले के काट्न हुने, के काट्न नहुने भन्ने विषयको बहस आवश्यक नरहेको बताए । ‘जुनसुकै धर्ममा पनि हिंसालाई प्रश्रय दिएको देखिँदैन । हिंसाको आडमा कुनै पनि धर्म जन्मिएको देखिँदैन ।’ उनले भने, ‘धर्मको आडमा हिंसालाई जोडेर के काट्न पाइन्छ, के काट्न पाइँदैन भन्ने बहस गरेर हामी समाजलाई साम्प्रदायिक र धार्मिक द्वन्द्वतर्फ लैजाने परिस्थिति सिर्जना भएको छ ।’

उनले सबैले संयमतापूर्वक नेपालको राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कायम गर्ने कुरामा हामी सचेत हुन जुरुरी रहेको बताए ।
सबै वर्ग, समुदाय र धार्मिक साम्प्रदायहरुलाई उनले उग्रतामा नजान आग्रह गरे । धार्मिक, साम्प्रदायिक र जातीय रुपमा द्वन्द्वमा फसेको मुलुकले कहिले पनि प्रगति गर्न नसक्ने उनको भनाई छ ।

नेपाललाई धार्मिक, साम्प्रदायिक र जातीय रुपमा द्वन्द्वतर्फ लैजान उकास्ने कुनै तत्वहरु भए त्यसलाई समयमै चिन्न जरुरी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्