काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाईडेनको पुत्लादोहन गरेको छ ।
एमसीसी परियोजना राष्ट्रघाती रहेको नेकपाको ठहर छ । दलालहरुले पैसाको लोभमा संसद्बाट एमसीसी पारित गरेको उनीहरुको आरोप छ ।
सरकार एमसीसी सम्झौता कार्यान्वयनको पक्षमा रहेको बताउँदै नेकपाले स्वार्थ राखेर गरिएको उक्त सम्झौता खारेज हुनपर्ने बताउँदै आएको छ ।
नेकपाले एमसीसी परियोजना कार्यान्वयन गराउने सरकारको निर्णयविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरिसकेको छ । पूर्वनिधारित आन्दोलन अनुसार नै आज नेकपाले बाईडेनको पुत्लादोहन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले विभिन्न नाराबाजी गरेका थिए ।