Logo

धरानमा भएको धार्मिक द्वन्द्वको जिम्मा हर्क साम्पाङले लिनुपर्छः पूर्वसचिव उपाध्याय



काठमाडौं, १० भदौ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले धरानमा भएको धार्मिक द्वन्द्वको जिम्मा त्यहाँका नगरप्रमुख हर्क साम्पाङले लिनुपर्ने बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त घटनको जिम्मा सबैभन्दा पहिले मेयर साम्पाङले लिएर विभिन्न सरकारको सहयोगमा समस्या समाधानका लागि पहल गनुर््पर्ने बताएका हुन् ।

‘धरान उपमहानगरमा भएको हुनाले यसको पूरै जिम्मेवारी मेयरले लिनुपर्छ । सबैभन्दा पहिलो जिम्मेवारी उहाँको हो । उहाँले सायद विभिन्न सरकारको सहयोग पनि लिनुपर्छ । नेतृत्व भनेकै त्यही हो, को–को संग सहयोग लिनुपर्छ । समाजको, व्यापारीको, समाजसेवीहरुको, सर्वसाधरण, प्राज्ञिक जगत, न्यायलय, माथिल्लो सरकार के–कसको सहयोग लिनुपर्छ ? सहयोग लिएर यति क्षमता देखाउन पर्यो,’– उनले भने ।

नेता भएपछि एउटा दुईवटा काम सबैले गर्न सक्ने बताउँदै उनले सबैलाई मिलाउन सक्ने सक्षता पनि राख्न पर्ने बताए । गौहत्याको समस्या देशैभर रहेको बताउँदै उनले धरानमा गाईगोरु काट्नु मान्छे काट्नु सरह भएको बताए ।

‘यो समस्या अरु ठाउँमा पनि छ, धरानमा प्रकट भयो । एक किसिमको इपिसेन्टरजस्तो । सविधानले वर्जित गरेको, फौजदारी कसुर मानिने हाक्काहाक्की लाईभ गर्दै गोरु काटियो । त्यो मान्छे काटे सरह हो । मान्छे मार्दा जन्मकैद छ तर, गाईगोरु मार्दा तीन वर्ष कैद छ । चोटपटक लगायो भनेपनि छ महिना कैद छ । नेपालको हकमा संरक्षित प्राणी हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्