Logo

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड 



काठमाडौँ, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताए ।
जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उनले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताए ।
नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उनले पुर्‍याएको विशिष्ट योगदानकै कारण हालैको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
“टुहुरेको गायकीले नागरिकको दुःख बोल्थ्यो, अन्याय विरूद्ध आवाज उठाउन प्ररित गथ्र्यो, महिलाहरूलाई आफ्नो मुक्तिका निम्ति सङ्घर्ष गर्न प्रेरित गथ्र्यो, त्यसैले उहाँ न्यायप्रेमी जनसमुदायका बीच अजर अमर गायकका रूपमा स्थापित हुनुभयो”, उनले भने ।
टुहुरेलाई प्रधानमन्त्री प्रचण्डले नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनतामा विद्रोह चेत पैदा गर्ने जनप्रिय जनबोलीका गायकका रुपमा स्मरण गरे । टुहुरे बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहेको र उनको सिङ्गो जीवन ऊर्जाले भरिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री दाहालले टुहुरेको स्मृति, जीवन र कार्यसमेत समाविष्ट गरी ‘जनबोलीका अविश्रान्त गायक जेबी टुहुरे’ स्मृतिग्रन्थ लोकर्पण गरेका छन् । पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उनीसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वका साथै घनिष्ठ मित्र र नातेदारका विचार र भावना समेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्