Logo

भीमदत्तका पूर्वमेयर बिष्टसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,१२ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १० जनालाई भ्रष्टाचार आरोपमा अभियोजन पत्र दर्ता गरेको छ।

पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना र भवानी कन्स्ट्रक्शन प्रालिविरूद्ध राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०७६र०७७ मा महाकालीको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राभेल र माटो) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त हुनुपर्ने आयमा नियमविपरीत छुट दिएको उनीहरूमाथि आरोप छ।

विष्टको अध्यक्षतामा बसेको तत्कालीन नगर सभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी सिफारिसको आधारमा मु।अ। करसमेत १ करोड ३४ लाख ९७ हजार ४ सय ५३ रुपैयाँ बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पाइएको अख्तियारको भनाइ छ।

विष्ट र जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड क र ख बमोजिमको कसूरमा विगो एक करोड चौतीस लाख सन्तानव्वे हजार चार सय त्रिपन्न रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय झ बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनसमेत सजायको मागदावीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्