काठमाडौं,१२ भदौ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूले निष्ठाको राजनीति नछोडेको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । गुरुङले आफू जुनदिन निष्ठाको राजनीतिबाट चुकेको महशुस हुन्छ सोहीदिन पदबाट राजीनामा दिने जिकिर गरे ।
गुरुङले भने‘विचौलियो हाबी भएर यो विधेयकहरू आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन, त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो। निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो।’
छलफलमा भाग लिँदै सांसदहरुले भने केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विचौलिया हावी भएको भन्दै आपत्ति जनाएको थिए ।