काठमाडौं,१४ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले तीन महिना सञ्चालन गर्न लागेको जनतासँग माओवादी नामक विशेष अभियान काठमाडौंको चन्द्रागिरी नगरपालिकाको वडा नम्बर-२ बाट सुरु हुने भएको छ ।
स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीले वडाध्यक्ष जितेको उक्त वडाबाट माओवादीले विशेष अभियानको सुरुआत गर्न लागेको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात गर्नेछन्। माओवादीले यही भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ।
उक्त अभियान तीन महिनासम्म चल्ने माओवादीले जनाएको छ । तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारी सम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउने निर्णय गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले गरेको थियो।