Logo

सशस्त्रका एसपी थपलियाको स्मृतिमा ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गरिने



काठमाडौं,१४ भदौ । सशस्त्र प्रहरी बलका दिवंगत उपरीक्षक (एसपी) सुमन थपलियाको स्मृतिमा ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रदान गरिने भएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवसदेखि अवार्ड प्रदान गरिने घोषणा गरेका हुन्।

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको स्मृतिमा शुक्रबार पर्सास्थित १३ नम्बर गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा महानिरीक्षक अर्यालले सो घोषणा गरेका हुन्।

पेशागत रुपमा दक्ष, उच्च अनुशासन लगायतका पक्षलाई मुल्याङ्कन गर्दै प्रत्येक वर्ष १ जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने अर्यालले बताए। थपलियाको १२औं दिनको स्मृति कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनु पर्दा संगठनलाई अपुरणिय क्षति पुगेको बताए।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगको भेटघाटमा वीरगञ्ज उद्योग वाणिज्य संघले थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोषको स्थापना गर्ने घोषणा समेत गरेको छ।

गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख, उपप्रमुख, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज भन्सारका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनिपतीलगायत अन्य सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा अन्य संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो।

१३ नम्बर गण पर्साको गणपति रहेका थपलियाको भदौ २ गते शनिबार निधन भएको थियो।



प्रतिक्रिया दिनुहोस्