काठमाडौं,१४ भदौ । चार राजनीतिक घटक मिलेर बनेको समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।
समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन तीन जना सदस्य रहेका छन् । घोषित समितिमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी,कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपमहासचिव तथा सांसद प्रकाश ज्वाला, प्रदेश अध्यक्ष एवं सांसद अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । विप्लव नेतृत्वको नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी र जसपाबाट देवीराज न्यौपाने, गगन बहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।
समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरु सहभागी छन्।