Logo

हाँस्यकलाकारको गाईजात्राः ललिता निवास प्रकरणमा मन्त्रीलाई जोगाएर पियनलाई जेल हालेको भन्दै जोगिन्दरको व्यंग्य



काठमाडौं, १४ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा हाँस्यकलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, जोगिन्दर पानवाला (शिवशंकर रिजाल), हिमेश पन्त, दिनेश काफ्ल लगायतको उपस्थिति रहेको थियो ।

साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका सभापति ऋषि धमलाले देशमा प्रत्येक दिन गाईजात्रा भइरहे पनि संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए । हाँस्यव्याङ्ग्य क्षेत्रमा अहिलेको नयाँ पुस्ता एकदमै सफल रहेको धमलाको भनाई छ ।

क्लबका सभापति धमलाले आगामी दिनमा रिपोर्टर्स क्लब नेपालले गाईजात्रालाई झनै प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । पञ्चायतकाल र राजाको शासन व्यवस्थामा समेत हाँस्यकालकारले हाँस्यव्याङ्ग्यमार्फत परिवर्तनको पक्षमा आवाज उठाएको र सचेतना फैलाएको पनि उनले स्मरण पनि गरे ।

कार्यक्रममा जोगिन्दर पानवाला (शिवशंकर रिजाल) ले नेपाली राजनीतिमा र चलचित्रमा रहेका विकृतिका बारेमा व्यङ्ग्य गरेका थिए । सदनभित्र छिरेपछि राम्रा मान्छे पनि विग्रिएको प्रति उनको व्याङ्ग्यको सन्देश थियो ।

ललिता निवास प्रकरणमा मन्त्रीलाई मुद्दा परेको मुद्दा मन्त्रीबाट पियनसम्म सरेको उनको व्यङ्ग्य थियो । सरकारले मन्त्रीलाई परेको भ्रष्टाचार मुद्दामा पियनलाई छानविन भइरहेको ब्यङ्ग्य गरे ।

ठूलाबडाले गरेको भ्रष्टाचार छानविनको दायरामा ल्याउन नसकिएको त्यसकालाई सरकार अहिले सक्षम भइनसकेको उनले बताए । ‘पहिला ठूला माछा समात्नुस्, ह्वेल माछा समात्नुस् । अनि झिँगे माछा समात्नु होला,’– उनले भने ।

यसवर्ष पनि आफूले जोगिन्दर पानवालाको गाईजात्रा प्रस्तुति लुछाचुँडी बजारमा ल्याएको बताउँदै उनले नहेरेकाहरुलाई हेर्नका लागि आग्रह गरे । उनले उक्त गाईजात्रा प्रस्तुति ‘लुछाचुँडी’ मा रहेको व्याङ्ग्य चुनाव पुराण प्रस्तुत गरेका थिए । आफूले किसानलाई प्रश्न सोधेको सन्दर्भ उल्लेख गर्दा उनले किसानले समेत ऋषि धमलाको प्रसंशा गरेको प्रसंग सुनाए ।



प्रतिक्रिया दिनुहोस्