Logo

समाजवादी मोर्चा बनेदेखि नै प्रतिक्रियावादीहरु यसको विरुद्ध धुप हाल्न थालेका छन्ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा बनेदेखि नै यसको विरुद्धमा प्रतिक्रियावादी र अवसरवादी लागिपरेको बताएका छन् । आज (बिहीबार) सुर्खेतको विरेन्द्र नगरमा आयोजित समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो समाजवादी मोर्चा बनेको दिनदेखि नै यसका विरुद्ध धुप हाल्न सुरु गरिसकेको प्रतिक्रियावादी र अवसरवादीहरुले । हामी नयाँ संकल्पसहित यो राष्ट्र निर्माण गर्ने, समाजवादको नयाँ यात्रामा जाने, समाजवाद भनेको एउटा पार्टी विशेष र साना समूहले गरेर पुरा हुने आन्दोलन होईन । जनतालाई एकता, संगठित र आन्दोलित नगरी यो पुरा हुने कुरा होईन,’– उनले भने ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महान अभियानको थालनी गरेदेखि प्रतिक्रियावादी र अवसरवादीहरुको स्वर दविएको उनको आरोप छ । ‘जब हामीले समाजवादी मोर्चा बनाउने कुरा गर्यौं । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा एउटा महान अभियानको थालनी गर्यो । तिनीहरुको स्वर अहिले दविएको छ ।’



प्रतिक्रिया दिनुहोस्