काठमाडौं,१५ भदौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटाले चीनले हालै जारी गरेको आफ्नो देशको नयाँ राजनीतिक नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कुरा हुने बताएका छन् ।
शनिबारबाट माओवादी केन्द्रले सुरु गर्न लागेको तीन महिने विशेष अभियान ‘जनतासँग माओवादी ’ को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सभामुखसमेत रहेका सापकोटाले कूटनीतिक माध्ययमबाट उक्त समस्या हल गर्ने बताए ।
उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’