Logo

प्रचण्डलाई जेल पुर्याउने र माओवादीलाई अपराधी करार गर्ने प्रचार भइरहेको छः विप्लव (भिडिओसहित)



काठमाडौं, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी ले माओवादीका विरुद्ध चोकचोकमा गलत प्रचार भइरहेको बताएका छन् । आज (शुक्रबार) पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले माओवादी र माओवादी आन्दोलनको विरुद्धमा अपराधीको आरोप लगाउने काम भएको बताएका हुन् ।

देशको कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अपराधी करार गरेर अहिले चोकचोकमा प्रचार गरिएको भन्दै उनले आपत्ति जनाए । अहिले भइरहेका विकृति र विसंगति दलाल पुँजीवादी व्यवस्थाको उपज भएको उनको भनाई छ ।

‘अहिले कमरेड प्रचण्ड यो देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नेतृत्व गरिराख्नु भएको छ । कार्यकारी प्रमुखको विरुद्ध हत्याराको आरोप चोकचोकमा प्रचार गरिएकोृ छ । आज हामी हेर्छौ, अपराधीको आरोप माओवादी आन्दोलनको विरुद्ध लगाइएको छ । विद्रोह गर्नु भनेको अपराध हो र हत्याराहरु ! यो प्रकारले प्रचार गरिँदै छ । जसले परिवर्तनको नेतृत्व गर्यो, कार्यकारी प्रमुखले समेत मुद्दा व्यहोर्नु परेको छ,’– उनले भने ।

कतिपय ठाउँमा छिटोभन्दा छिटो प्रचण्डहरुलाई जेलमा पुर्याउन पर्ने, माओवादीहरुलाई अपराधी करार गर्नुपर्ने लगायतका चर्चा हुने गरेको उनको भनाई छ । कम्युनिष्टहरु फुटे, सकिए, कम्युनिष्टहरुले केही गर्न सक्दैनन् भनेर छरिएको भ्रमलाई चिर्न आवश्यक रहेको उनले बताए । माओवादीहरु फुट्नमात्रै नभएर जुट्न पनि जानेका छन् भन्ने सन्देश सबैमाझ पुर्याउन पनि उनले उपस्थित नेता तथा कार्यकर्ता र सर्वसाधरणसमक्ष आग्रह गरे ।

‘कम्युनिष्टहरु फुटे, सकिए, कम्युनिष्टहरुले सक्दैनन् यो प्रचार छ । त्यसैले म आग्रह गर्न चाहन्छु, एउटा सन्देश जनतामा पुर्याउन जरुरी छ, माओवादी फुट्नमात्रै होईन, माओवादीहरु जुट्न पनि जानेका छन् ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्