Logo

भोलिबाट सुरू हुने एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा



काठमाडौं,१५ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी गराए ।

बुटवलको रामनगर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनमा प्रदेशका १२ जिल्लाका प्रतिनिधि सहभागी हुने एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता बुटवलमा आउने क्रम सुरु भइसकेको छ ।

सम्मेलन उद्घाटनमा बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट करिब दश हजार कार्यकर्ता सहभागी हुने र बुटवलको राजमार्ग चौराहबाट जुलुस तथा झाँकी निस्कने उनले बताए ।

सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

पत्रकार सम्मेलनमा एमाले सचिव पद्मा अर्यालले प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसके लोकतान्त्रिक प्रतिस्पर्धालाई निषेध नगरेको बताएकी छन् ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा छन् । अन्तिममा कंडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्