Logo

यस कारण देउवालाई निशर्त प्रधानमन्त्री बनाउन चाहन्छन् ओली



काठमाडौं, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको समीकरण परिवर्तनबारे चर्चा चुलिएको छ । अहिले सरकारको काम कारबाहीलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा रुष्ट छन् । उनले गृहमन्त्री परिवर्तनका लागि पटक–पटक प्रधानमन्त्री प्रचण्डलाई दवाब दिने गरेका छन् ।

सुन तस्करी प्रकरणमा नेकपा (एमाले) ले संसद् अवरोध गरेपछि सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नै देउवाले गृहन्त्रीलाई गाली गरेका थिए । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानकै क्रममा पक्राउ गरेको र सुन तस्करी प्रकरणमा पटक–पटक नाम जोडिँदा पनि माओवादी नेता कृष्ण बहादुर महरालाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई झपारेका थिए ।

त्यसैगरी, प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पनि अहिलेको सत्ता गठबन्धन भत्काएर अर्को समीकरणका लागि पटक–पटक प्रयास गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई विना शर्त पूरै कार्यकाल प्रधानमन्त्री बन्नका लागि अफर गरेको तथ्य पनि बाहिरिएको छ ।

एमालेका प्रभावशाली नेता शेरबहादुर तामाङले कांग्रेस अहिले चीर निद्रामा रहेको र ब्युँझिएको दिन सरकारको आयु सकिने बताउँदै आएका छन् ।

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल सत्ता समीकरण परिवर्तनका लागि गठबन्धनभित्रैबाट धेरथोर पहल भएको स्वीकार गर्छन् ।

एमालेले कांग्रेसलाई विना शर्त सहयोग गरेर विभिन्न काण्डमा मुछिएका आफ्ना नेता तथा कार्यकर्ता जोगाउन चाहेको उनी बताउँछन् । अहिलेको गठबन्धन नटुटेसम्म निरन्तर रुपमा भ्रष्टाचारका विभिन्न फाईल खुलिरहने र आफ्ना नेता कार्यकता पर्ने त्रासले एमालेले अहिलेको गठबन्धन भत्काउन चाहेको उनको आरोप छ ।

‘एमालेले कांग्रेसलाई सहयोग नरेर सुख छैन नि । एमालेले कांग्रेसलाई सहयोग गरेर यो गठबन्धन नटुटाउने हो भने यो शृङ्खला त आइराखेको छ, को–को पर्ने हुन्, कसरी पर्ने हुन् ? यो कुराको त्रासले चोरको खुट्टा काटभन्दा खुट्टा भिक्ने प्रवृत्ति एमालेमा र विशेष गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीमा देखिराखिएको छ, यसले देशलाई ठीक ठाउँमा पुर्याउँदैन,’– उनले भने ।

भ्रष्टाचारका विभिन्न प्रकरणमा संलग्नता पुष्टि भएका कसैले पनि उन्मुक्ति नपाउने उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले अनुसन्धानका क्रममा आफ्नै नाम जोडिएपनि नछाड्न भनेको भन्दै उनले भ्रष्टाचार गर्नेहरु माओवादी हुनैनसक्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्