काठमाडौं,१७ भदौ । काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
आइतबार बिहान ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाको छाप्रोस्थित सडकमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए।
जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापा र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको हो।
उनीहरूको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।
त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो।
दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा ४ जनाको उपचार जारी छ।