Logo

माओवादी सुध्रिने या विघटन हुने ? अब हामी निर्मम हुनुपर्छः सरल सहयात्री



काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताका माझमा गएरमात्रै नेता, कार्यकता र राजनीतिक दल सुध्रिने बताएका छन् ।

प्राईम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताका माझमा गएमात्रै पार्टी सुध्रिन्छ भन्ने विश्वव्यापी सत्यलाई स्वीकार गरेर तीन महिने अभियान सञ्चालन भएको बताएका हुन् ।

‘जनतासँगको सम्बन्ध हामीले जुन लेवलमा उठान गरेका थियौं, त्यो लेवलको टुटेकै हो । जनतामा गएरमात्रै नेता, कार्यकर्ता अथवा राजनीतिक दलहरु सुध्रिन्छन् भन्ने विश्वव्यापी सत्य हो,’– उनले भने ।

माओवादी शान्ति प्रक्रियामा आएपछि बरालिएको उनको स्वीकारोक्ति छ । संविधान र कानुन बनेपछि जनताले सुख पाउँछन् भन्ने भ्रमका कारण जनताको जीवन परिवर्तन नभएको उनको ठम्याईँ छ । जनताले १० वर्षे जनयुद्ध र जनआन्दोलनमा अपेक्षा गरेका कुराहरु पुरा नहुँदा निराशा छाएको उनको बुझाई छ ।

‘माओवादी खास गरेर शान्ति प्रकृयामा आएपछि बरालियो बढि । हामीले विशेष गरी संविधान निर्माण गरेपछि, कानुन बनाएपछि जनताले सुख पाउछन् भन्ने आदर्शवादी मान्यता बोकेर हामी सहर पसेछौं ।’ उनले भने, ‘सहर पसेपछि जनताको जिन्दगीमा परिवर्तन भएन । जनताले माओवादीबाट १० वर्षको युद्ध र क्रान्तिमा जे अपेक्षा राखेको थियो । माओवादीलाई साथीजस्तो ठानेको थियो । त्यो साथीत्व चाहिँ हाम्रो टुट्यो । त्यो टुटेका कारण अहिले चाहिँ हामी निर्ममतापूर्वक हामीले भनेको माओवादी सुध्रिने या विघटन हुने ।’

 



प्रतिक्रिया दिनुहोस्