Logo

सार्वजनिक निकायप्रति भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक निकायहरूप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्ने बताएका छन् ।

आज (आईतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकार कक्ष अवलोकन र २४सैं घण्टा सेवाको शुभारम्भ गर्दै १२ वर्षअघि सोही अवधारणामा यो सेवाको विकास गरिएको उनले बताए ।

‘आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायहरूप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालको सन्दर्भमा आजभन्दा १२ वर्ष पहिले हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको थियो। हेलो सरकार विभिन्न उतारचढावका बीच २४ सै घण्टा सञ्चालन गर्ने अवस्थासम्म आउनु हाम्रा लागि खुसीको कुरा हो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

जनतामाझ जन्मने गुनासो र जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने प्रधानमन्त्री प्रचण्डले बताए । सरकारप्रति जनताको गुनासो बढ्दै जाँदा राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँन सक्ने विषयको बोध गरेर हेलो सरकारलाई थप प्रभावकारी बनाउने कोशिस गरेको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले सञ्चारका विभिन्न माध्यमबाट हेलो सरकार सेवामा २४सैं घण्टा आम नागरिकले गुनासो, जिज्ञासा वा सुझाव दिन सकिने व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्