Logo

बालेनका प्रतिस्पर्धी सायमी भन्छन्, ‘उहाँको आशय गलत थिएन’



काठमाडौं, १८ भदौ । हाम्रो नेपाली पार्टीका नेता सुमन सायमीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लेखेको फेसबुक स्ट्याटसको आशय गलत नभएको बताएका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालेनको अभिव्यक्ति गलत भएपनि आशय सही रहेको बताएका हुन् । गत स्थानीय तह निर्वाचनमा सायमी बालेनका प्रतिस्पर्धी थिए ।

‘उहाँ (बालेन) को आशय गलत थिएन, अभिव्यक्ति चाहिँ गलत थियो । सरकार भनेको तीन तहको सरकार हो । उहाँ पनि सरकारमै हुनुहुन्छ, चोर भन्दाखेरी उहाँ पनि चोर हुनुभयो । उहाँको आशय चाहिँ गलत थिएन । अहिले सरकारले काम नगरेको हुनाले आक्रोशमा भन्नुभयो,’– सायमीले भने ।

बालेनको प्रिन्सिपल सुशासन र कानुनी राज्य रहेको बताउँदै उनले इमरजेन्सी प्रशासनले पनि बुझ्नपर्ने बताए । बालेनको अभिव्यक्तिलाई लिएर विभिन्नखाल्का तर्क र अभिव्यक्तिहरु आइरहेको बताउँदै उनले अभिव्यक्ति दिँदा सचेत रहन आवश्यक रहेको बताए ।

‘उहाँको शब्द चाहिँ गलत भयो । आशय सिंहदरबारका मान्छेहरुले जनताको काम नगरेको आक्रोश पोखेको हो यो,’– उनले भने ।

गत शनिबार बालेनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसलाई लिएर अहिले तीब्र ओलोचन भइरहेको छ । उक्त आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारण बालेनको सचिवालयले हिजो विज्ञप्ति जारी गर्दै प्रष्ट्याइसकेको छ । बालेन पत्नी सविना काफ्ले चढेको महानगरको गाडीमा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै उनले सिंहदरबार र सरकारप्रति आक्रोश पोखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्