Logo

कार्यकर्ताले ओलीको निर्देशन नमानेपछि लुम्बिनी एमालेको अध्यक्ष छान्न मतदान हुँदै



काठमाडौं,१८ भदौ । नेकपा एमालेको लुम्बिनी प्रदेशको अध्यक्ष छान्न निर्वाचन हुने भएको छ । सहमतिको सबै प्रयास असफल भएपछि आज दिउँसोबाट निर्वाचन सुरू हुने बताइएको छ ।

गत शनिबारबाट सुरु भएको एमालेको प्रथम प्रदेश अधिवेशन आइतबार सक्ने तयारी थियो । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने विषयमा नेताहरुबीच निक्कै छलफल भएपनि कुरा नमिलेपछि आजसम्मका लागि अधिवेशनको समयावधि थप गरिएको थियो ।

आइतबार बिहान महाधिवेशन स्थलमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिले नेतृत्व छानेर अन्य प्रदेशलाई पनि उदाहरण दिन निर्देशन दिएका थिए । ओलीले प्रदेशको नेतृत्व सर्वसम्मतिले छान्ने जिम्मा पार्टी सचिव तथा प्रदेश ईन्चार्ज पद्या अर्याललाई दिएका थिए । तर ओलीको निर्देशन र अर्यायलको प्रयास दुबै निरर्थक भएपछि आज मतदान हुन लागेको हो ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा एमालेले २०५ जना रहेको छरितो प्रदेश कार्यसमिति चयन गर्नेछ । त्यसका लागि प्रदेशभरबाट कूल १ हजार ४ जना प्रतिनिधि छानिएका छन् । ५ पदाधिकारीसहित २०५ जनाको कार्यसमिति रहने एमालेको भावि प्रदेश अध्यक्षका लागि प्युठानका हरिप्रसाद रिजाल र पाल्पाका राधाकृष्ण कँडेलले मनोनयन दर्ता गराएका छन् ।

ध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेलले आफूले एक वर्ष मात्र प्रदेश अध्यक्ष भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको,पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

केन्द्रीय सदस्य एवं पुर्व प्रदेश मन्त्री रहेका अर्का उम्मेदवार हरिप्रसाद रिजालले पार्टीलाई थप बलियो बनाउन आफू प्रदेशमा आउन चाहेको बताएका छन् । कंडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्