Logo

एमाले लुम्बिनीको नयाँ नेतृत्व छान्न मतदान जारी



काठमाडौं,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ। बिहान सवा ८ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जानकारी दिएको छ।

जारी निर्वाचनमा पदाधिकारीमा दुई प्यानल देखिएका छन्। सहमतिको प्रयास भन्दै चारदिन लम्बिएको अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएपछि उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन्।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ।

अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै प्रदेश नेतृत्व चयन गर्न दिएको निर्देशन दिएका थिए।

तर, नेतृत्वमा दुबै एमाले आ-आफ्नो दाबी नछाडेपछि दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन्।

एमाले लुम्बिनीको अध्यक्षमा प्रतिस्पर्धा गर्ने कँडेल पाल्पाका हुन्। उनी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्।

त्यसैगरी महासचिव शंकर पोखरेल निकट मानिने रिजाल प्युठानका हुन्। कँडेल प्रदेश कमिटीको निवर्तमान अध्यक्षसमेत हुन्। रिजाल पार्टीको केन्द्रीय सदस्य हुन्।

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्