काठमाडौं,१८ भदौ । अर्ना बियरले आफ्नो प्रतिवद्धता अनुसार एसिया कप क्रिकेट -२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा सहभागीमध्ये ५ नेपाली खेलाडीलाई कूल ८ लाख ५० हजार पुरस्कार दिने भएको छ ।
अर्ना बियरले नेपाल र भारतबीचको खेलमा छक्का प्रहार गर्नेलाई प्रतिछक्का १ लाख, चौका प्रहार गर्नेलाई प्रतिचौका २५ हजार र विकेट लिनेलाई प्रतिविकेट एक लाख पुरस्कार दिने घोषणा गरेको थियो ।
श्रीलंकामा सम्पन्न भारत र नेपालबीचको म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले सोमबार सामाजिक सञ्जालमार्फत नेपालले गरेको ब्याटिङका आधारमा ५ जना खेलाडीलाई पुरस्कार दिने जानकारी दिएको छ ।
अर्ना बियरले दिएको जानकारी अनुसार नेपालका कुशल भूर्तेलले सर्वाधिक २ लाख ७५ हजार रकम पाउने भएका छन् । उनले भारतविरुद्ध ३ चौका र २ छक्कासहित ३८ रन बनाएका थिए । त्यस्तै १ चौका र २ छक्का प्रहार गरेको सोमपाल कामीले २ लाख २५ हजार पाउने भएका छन् । उनले ४८ रन बनाएका थिए । त्यस्तै भारतविरुद्धको खेलमा ऐतिहाँसिक अर्धशतक प्रहार गरेका आसिफ शेखले २ लाख तथा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले जनही ७५ -७५ हजार पुरस्कार पाउने भएका छन् । भातरविरुद्ध नेपालका ५ खेलाडीबाट कूल १८ चौका र ४ छक्का प्रहार भएको थियो ।
नेपालले दिएको २३१ रनको सम्मानजनक लक्ष्य पछ्याएर ब्याटिङ थालेको भारतले २ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल अवरुद्ध भएको थियो । लामो समयसम्म वर्षाका कारण खेल अवरुद्ध बनेपछि २३ ओभरमा झारिएको खेलमा भारतले १४५ रनको लक्ष्प पाएको थियो ।
जवाफमा भारतले २० दशमलव १ ओभरमा बिना कुनै विकेटको क्षतिमा १४७ रन बनाएपछि खेल १० विकेटले जितेको थियो । भारतसँगको फराकिलो हारसँगै नेपाल यो सिजनको एसिया कपबाट बाहिरिएको छ । भने समूह चरणबाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् ।