Logo

शेखरले देउवालाई भने ‘मन्त्रीहरुलाई बोलाएर सम्झाउनुस्’



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी पाएको मन्त्रालयमा पनि कांग्रेसमाथि आस्था राख्ने कर्मचारीलाई पाखा लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

आज (मंगलबार) कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले पाएको मन्त्रालयबाटै डेमोक्र्याट्सहरुलाई निकाल्दा कर्मचारी र कर्मचारी युनियनमा काम गरिरहेकाहरुको मनोबल गिरेको बताएका हुन् ।

‘अघि कर्मचारी वृत्तका साथीहरुले जुन कुरा उठाउनुभयो, त्यो अत्यन्त गम्भीर पनि छ । नेपाली कांग्रेसको मन्त्रालयमा डेमोक्र्याट्सहरु छैनन् भन्ने कुरा आइराखेको छ । डेमोक्र्याट्सहरुलाई पाखा लगाएको भन्ने कुरा आइराखेको छ । अनि कर्मचारीहरुको, कर्मचारी युनियनमा काम गरिराखेका साथीहरुको मनोबल कसरी उच्च हुन्छ ? यो कुरा सभापतिले त बुझ्नुभएको छ,’– उनले भने ।

कांग्रेस निकट कर्मचारीहरु अहिले अप्ठ्यारो आवस्थामा रहेको बताउँदै उनले मन्त्रीहरुलाई बोलाएर उक्त कुरा राम्रोसँग सम्झाउन सभापति शेरबहादुर देउवालाई अनुरोध गरे ।

‘सभापतिले मन्त्रीहरुलाई बोलाएर यो कुराहरु राम्रोसँग सम्झाउन पर्छ भन्ने मलाई लाग्छ । अप्ठ्यारो परिस्थितिमा हाम्रा कर्मचारी साथीहरु परिरहनु भएको छ । हामीसँग पनि भेटघाट भइराखेको हुन्छ, उहाँहरु अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ । त्यो पनि कहाँबाट भन्दाखेरी नेपाली कांग्रेसले लिएको मन्त्रालयबाट भन्दाखेरी आफैंलाई झसङ्ग हुन्छ, अप्ठ्यारो महशुस हुन्छ,’– नेता कोइरालाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot