काठमाडौं,१९ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप–२०२३ मा राष्ट्रको नेतृत्व गर्न पाउएर सम्मान र आनन्दको अनुभूति भएको बताएका छन् ।
प्रतियोगितामा यात्रा समाप्त भएपछि रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा टिमले उत्कृष्ट प्रदर्शनको प्रयास गरेको बताए ।
“राष्ट्रको नेतृत्व गर्दै एसिया कपमा सहभागी हुनु आफैँमा सम्मान र आनन्दसहितको एउटा ठूलो अनुभूति हो,” रोहितले लेखेका छन्, “यस प्रतियोगितामा हामीले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्यौँ र यात्रा जारी छ । हामी आगामी प्रतियोगितामा यो भन्दा अझ उत्कृष्ट प्रदर्शन गर्ने छौँ । यो अविश्वसनीय यात्रामा तपाईंको साथ, समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद ।”
नेपालले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा पहिलोपटक छनोट भएको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो ।
श्रीलंकाको क्यान्डीमा आफ्नो दोस्रो खेल खेलेको नेपाल बुधबार स्वदेश फर्किंदै छ ।