काठमाडौं,२० भदौ । नेपालको संसदबाट पारत भएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा यतिबेला पुनः एकपटक चर्चामा आएको छ ।
छिमेकी राष्ट्र चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि आलोचना र चासो बढ्दो छ । चुच्चे नक्साको किचलो बढ्दै गएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले छलफलका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।
बिहीबार बस्ने समितिको बैठकमा थप छलफल गरेर निष्कर्षमा पुग्न भन्दै मन्त्री साउदलाई बोलाइएको हो । साउदले केही दिनअघि नेपाली कांग्रेस ओखलढुंगाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नक्सा छिमेकीलाई नपठाएको दाबी गरेका थिए ।
तत्काली ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने मन्त्री साउदको भनाई खण्डन गर्दै सरकारले तत्कालै सबै मित्रराष्ट्रहरुलाई नयाँ नक्साबारे जानकारी गराएको बताएका थिए । वर्तमान र पूर्वमन्त्रीबीचको आरोप प्रत्योरले झनै समस्या निम्तिने खतरा देखेपछि समितिले छलफल गर्न साउदलाई बोलाएको हो ।