Logo

सुधार केन्द्र कि यातना गृह ? पुनर्जीवनको खोजीमा मुक्तिदाय पुगेका थापामाथि मरणासन्न हुनेगरी कुटपिट (भिडिओसहित)



काठमाडौं, २० भदौ। ललितपुरको गोदावारी नगरपालिका बाँडेगाउँमा रहेको मुक्तिदाय सेवा (सुधार केन्द्र) मा राखिएका अनिल थापामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ । सुधार गृहमा रहेका थापालाई त्यहाँबाट भाग्ने क्रममा समातेर मुक्तिदाय सेवामा आवद्ध मानिसहरुले उनको कुटपिट गरेका हुन् । थापामाथि कुटपिट भएको थाहा पाएर त्यहाँका स्थानीयहरुले खबर गरेर हिजो उद्धार गरेका छन् । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

अनिलको पछाडि ढाडमा रडले हानिएको डाम प्रष्ट देख्न सकिन्छ । उनको शरीरमा भएको निलडामका हृदय विदारक रहेको छ । अनिलका आफन्तले बताएअनुसार उनी लम्जुङका हुन् । वैदेशिक रोजगारीमा रहेकी दिदीले अनिललाई सुधार केन्द्रमा हालिदिएकी थिईन् । अनिलका आफ्न्तले बताएअनुसार उक्त सुधार केन्द्रमा पटक–पटक कुटपिट र अमानवीय व्यवहार भएपछि उनी त्यहाँबाट उम्किन खोजेका थिए । उक्त सुधार केन्द्रमा गुण्डा नाईकेहरुको पनि लगानी रहेको बुझिएको उनका आफन्तले बताए ।

आफूलाई उक्त सुधार गृहको कर्मचारी बताउने शरण गुरुङले कुटपिट भएको स्वीकार गरे । भागेको अवस्थामा समातेर ल्याउँदा कुटपिट भएको र आफूहरुबाट गल्ती भएको महशुस गरेको उनले बताए ।

‘भागेको थियो, समातेर ल्याउँदा कुटपिट भएछ । कुटपिट भएको हो । पिट्न मिल्दैन, यो हाम्रो गल्ती भयो । हामीबाट ठूलो गल्ती भएको हो । केही नराम्रो भएको भए हामीलाई नै गाह्रो हुन्थ्यो,’– उनले भने ।

सुधार गृहमा चरम यातना भएको यो प्रतिनिधि घटनामात्रै हो । सुधार गृहका नाममा दैनिकजसो यस्ता प्रकारका अमानवीय व्यवहार हुने गरेका छन् । यद्यपि सरकार मौन रहेको छ । लागूऔषध र दुव्र्यसनीमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउने अर्थात उनीहरुलाई पुनर्जीवन दिने उद्देश्यका साथ खोलिने यस्ता संस्थामा उनीहरुको आफन्तसँग मोटो रकम असुल्ने र सहारा माग्दै पुनर्जीवनको खोजीमा आएकाहरुलाई चरम यातना र अमानवीय व्यवहार गर्ने यस्ता प्रकारका संस्थाहरुमाथि सरकारले शुक्ष्म निगरानी राख्न आवश्यक छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्