काठमाडौं,२० भदौ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै दोषिमाथि छानबिन गरि कारबाही गर्न माग गरेको हो ।
‘नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । साथै, नेपाली कांग्रेस सह-महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महामन्त्री यादवमाथि आज काठमाडौंको भृकुटिमण्डपमा आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा राजावादी भनेर चिनाउँदै हिड्ने नुवाकोटका श्याम सापकेटाले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भने आक्रमण गर्ने सापकोटा प्रहरीको नियन्त्रणमा छ्न ।