Logo

परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवले संयुक्त रुपमा गरे हिमालय किरण पब्लिक क्याम्पसको उद्घाटन



काठमाडौं, २१ भदौ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवन उद्घाटन भएको छ । हिजो (बुधबार) परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा संखुवासभाका राजनीतिक नेता, समाजसेवी, नेपाल सरकारका अधिकारी, क्याम्पसका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो । उक्त परियोजना ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार तीन करोड ७४ लाख लागतमा निर्माण गरिएको हो ।

नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल आदि छन् । जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याएको र भारत जस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताए । उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पुर्याउने भएकाले विशेष महत्व रहेको बताए । मन्त्री साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए । दुई देशबीचको सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको उनको भनाई छ ।

उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको पनि बताए ।

हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखियो । यस क्याम्पसमा छ सयभन्दा बढि विद्यार्थी अध्ययनरत छन् । जसमा ६० प्रतिशत छात्रा रहेका छन् ।

हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ । स्थापनाकालदेखि नै यस क्याम्पसले गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा चार सय ८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकको छ । भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुलबससमेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्न नेपाल सरकारले गरेको प्रयासमा थप बल प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot