काठमाडौं,२१ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल, नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकार ढाल्ने फैसला जारी गरेको हो ।
थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।
गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो।
यता, मुख्यमन्त्री थापा पक्षले भने उपसभामुख सिर्जना दनुवार बैठक बोलाएर काठमाडौं गएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ। एमालेले आफ्नो ज्येष्ठ सांसदहरूलाई समेत बैठकमा अनुपस्थित गराएको थियो।
यदी उपसभामुख अथवा एमालेका ज्येष्ठ सांसदले सभाध्यक्षता गरेको भए थापाले निर्विवाद आवश्यक बहुमत पाउने थिए।