Logo

प्रचण्डको प्रशंसा गर्दै जनमतका अध्यक्ष राउतले भने, ‘सरकारले राम्रो काम गरेको छ’



काठमाडौं, २२ भदौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले नागरिकता विधेयक, राजबन्दीको रिहाई, किसानका मुद्दा र भ्रष्टाचार निवारण लगायतमा राम्रो काम गरेको बताएका हुन् ।

‘हामीले सरकारमा जानु अगाडि केही शर्तहरु राखेका थियौं । नागरिकता विधेयक पास हुनुपर्यो, रेशम चौधरी लगायत राजबन्दीको रिहाइ हुनपर्यो, किसान आन्दोलनको मुद्दा सम्बोधन हुन पर्यो, हाम्रा पनि मुद्दाहरु थिए, तिनीहरुमाथि सुनुवाइ हुनपर्यो, पक्रियामा जानुपर्यो ।’ उनले भने, ‘सेवा प्रवाहका कुरा शिक्षा, स्वाथ्य रोजगारीमा राम्रो हुनपर्यो, भ्रष्टाचार उन्मुलनको दिशातर्फ अगाडि बढ्न पर्यो, यी हाम्रा मापदण्ड थिए ।’

उनले सरकारले नागरिकता विधेयक पारित गरेको, राजबन्दीको रिहाई स्वरुप रेशम चौधरीको रिहाई गरेको र अन्य राजबन्दीको रिहाइको प्रक्रिया जारी रहेको बताए ।

‘आज नागरिकताको पनि बाटो खुल्यो । रेशमजी बाहिर आउनुभयो, अरु पनि राजबन्दी बाहिर आउने क्रममा हुनुहुन्छ । आन्दोलनका मुद्दाहरु फिर्ता लिनका लागि ऐन संशोधन टेबुल भएको छ । किसान आन्दोलनका लागि केही हदसम्म काम भएको छ,’– उनले भने ।

सरकारले भारत सरकारको सहयोगमा रासायनिक मलखाद फ्याक्ट्री खोल्ने सहमति गरेको उनको भनाई छ । सरकारले क्रमिक रुपमा मिटरब्याजी समस्याको समाधान गर्ने काम गरिरहेको उनको भनाई छ । समग्रमा सरकारले धेरै काम राम्रा गरेको उनको दाबी छ ।

सबै मुद्दाहरु प्रक्रियागत ढङ्गबाट टुङ्गिने बताउँदै उनले अहिले सरकारले काम गर्न सकेन भनेर आम मानिसमा गरेको भ्रम चिर्न आवश्यक रहेको बताए । सरकारले भ्रष्टाचारका विभिन्न फाईल खुलेको र अनुसन्धानको क्रममा रहेको बताउँदै उनले अनुसन्धान राम्रो हुने र निश्कर्षमा पुग्ने आशा गर्न आवश्यक रहेको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्