काठमाडौं,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि प्रदेश प्रमुखको कार्यालय तयारीमा जुटेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशत्रय नहकुल सुवेदी, कुमार चुडाल र सपना प्रधान मल्लको पूर्ण इजलासले उद्धव थापा नेतृत्वको सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
सर्वोच्चको परमादेशपछि प्रदेश पर्शुराम खापुङ छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ । ‘सर्वोच्चको फैसलाको पत्र भर्खरै इमेलमार्फत प्राप्त भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले भने, ‘पत्र प्राप्त भएसँगै प्रदेश प्रमुख परशुराम खापुङ छलफलमा हुनुहुन्छ । सम्भंवत उहाँले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।’
कार्की यसअघि २०७९ पुस २४ देखि २०८० असार १५ गतेसम्म पनि कोशीको मुख्यमन्त्री रहेका थिए ।