Logo

कोशीका कांग्रेस सांसद हाङ्गामको घरमा प्रहरीको हुलहुज्जत



काठमाडौं,२२ भदौ । कोसी प्रदेशका सांसद खगेनसिंह हाङ्गामको घरमा घेरा हालेर प्रहरीले बिहीबार राति हुलहुज्जत गरेको छ । हाङ्गामको घरमा सादा पोसाकमा लाट्ठी तथा हतियारसहित ठूलो संख्यामा खटिएका प्रहरीले हाङ्गामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा घेरा हालेर हुलहुज्जत गरेको बताइएको छ ।

सांसद हाङ्गामको सचिवालयले घटनाको भीडीयो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको छ । भीडीयोमा पोसाकसहित लाट्ठी र हतियारधारी तथा बिना पोसाकका प्रहरी अभद्र शैली र उग्ररूपमा प्रस्तुत भएको देखिन्छ ।

प्रहरीले उनको घरको गेटमा पटकपटक लात्ताले प्रहार गरेको भीडीयोमा देख्न सकिन्छ । भीडीयो अहिले भाइरल भइरहेको छ । घटना हुनुको पछाडि दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताइएको छ । जात्रामा प्रहरी र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो ।

कांग्रेस सांसद हाङ्गाम ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् । हाङ्गाम तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि पनि हुन् । घर घेरा हालेर आफूमाथि प्रहरीले आक्रमणको प्रयास गरेको उनले बताए ।

यसबारेमा थप अनुसन्धान र बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेसका कार्यकर्तालाई रक्सी खाएका प्रहरीले कुटपिट गरेपछि दिउँसोदेखि नै प्रहरी र कांग्रेस कार्यकर्ताबीच भनाभन भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्