काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय प्रदीप गिरी विद्रोह र युद्धलाई पनि राजनैतिक आन्दोलनको रुपमा आत्मसाथ गर्ने चिन्तक भएको बताएका छन् । आज (शुक्रबार) सिरहाको बस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वर्गीय गिरीले माओवादीलाई आतङ्ककारी घोषणा गरेर टाउकाको मूल्य तोकिँदा पनि राजनीतिक रुपले समस्याको ममाधान खोजेको स्मरण गरे ।
स्वर्गीय गिरीसँग माओवादी शान्ति प्रक्रियामा आउनु अगाडि पनि अप्रत्यक्ष संवाद भएको प्रधानमन्त्री प्रचण्डले खुलासा गरे । गिरीले त्यतिबेलाको विद्रोहलाई राजनीतिक आन्दोलनको रुपमा आत्मसाथ गरिनुपर्छ भनेर लागि परेको उनले स्मरण गरे ।
‘त्यतिबेलाको विद्रोह, युद्धलाई एउटा राजनैतिक आन्दोलनको रुपमा आत्मसाथ गर्ने उहाँ एउटा त्यस्तो चिन्तक हुनुहुन्थ्यो । हामीलाई आतङ्ककारीको रुपमा टाउकाको मूल्य तोक्दा पनि यो राजनीतिक समस्या हो, यसको समाधान राजनीतिक रुपले गर्नुपर्छ भनेर आफ्नै पार्टीभित्र र देशको राजनीतिक मञ्चमा जहिले पनि उहाँले सकारात्मक समाधानको कोशिस गर्नुभयो,’– गिरीले भने ।
माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिक परिस्थितिको बारेमा छलफलका लागि शेरबहादुर देउवासँग भेटाउने र छलफलको वातावरण पनि स्वर्गीय गिरीले नै तयार गरेको उनले स्मरण गरे । स्वर्गीय गिरी विरामी पर्नु अगाडिदेखि आफूहरु निकै नजिक भएको प्रचण्डले सुनाए । त्यसबेला आफूहरुले संगै लन्च, डिनर गर्ने र लामो समय छलफल गर्ने गरेको प्रचण्डले स्मरण गरे ।
‘पछिल्लो चरणमा उहाँलाई विमार लाग्नुभन्दा केही समय अगाडिसम्म उहाँले मलाई अलि बढि नै भरोसा गर्न थाल्नु भएको थियो । मलाई माया गर्न थाल्नु भएको थियो । हामीसँगै लन्च, डिनर गर्ने, लामो छलफल गर्ने प्रक्रिया सुरु भएको थियो,’– उनले भने ।
स्वर्गीय गिरीको अभाव नेपाली राजनीतिमा रहेको उनले दाबी गरे । गिरीमा रहेको विचार र चिन्तनमा मौलिकता र सबैप्रति सहज र सरल सहकार्यको भावना आफैंमा विलक्षण प्रतिभा भएको उनले बताए ।
‘प्रदीप गिरीजी को अभाव हामी सबैलाई खड्किएकै छ । उहाँको विचारको मौलिकता, चिन्तनको मौलिकता र सबैप्रति सहज र सरल सहकार्य आफैंमा अलि विलक्षण छन्जस्तो लाग्छ,’– उनले भने । जन्मपछि मृत्यु साश्वत कुरा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदीप गिरीको मृत्यु पनि अमर रहेको बताए ।