काठमाडौं,२२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी साता अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल अमेरिका जान लागेका हुन् ।
प्रधानमन्त्री दाहाल अमेरिका भ्रमण सकेर उतैबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानेगरि तयारीमा छन् । तर प्रधानमन्त्री दाहाल अमेरिकाबाट सीधै चीन भ्रमणमा जाँदा राम्रो सन्देश नजानेभन्दै सरकारको निर्णयको आलोचना हुन् थालेको छ । यूएनबाट सीधै चीन जाने नर्णयमा आदोचना बढ्दै गएपछि सरकारले प्रष्टीकरण दिएको छ ।
सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भ्रमणबारे अनावश्यक शंकाको दृष्टिले नहेर्न र अन्यथा नबुझ्न आग्रह गरेकी छन् ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले को कहाँबाट कुन बाटो गयो भन्ने प्राविधिक कुरामात्रै भएको दाबी गरिन् ।
‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र पछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ। तयारीबारे हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयसँग र सम्बन्धित निकायसँग संयोजन गरेर तयारी भइरहेको छ’, उनले भनिन्, ‘अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया सुरु भएको छ। द्विपक्षीय भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमै स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन्। कहाँबाट कुन बाटो पर्यो भन्ने प्राविधिक कुरा हो। त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन । उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्ने कुरा प्राविधिक हो। यसमा कुनै नियत, विषयवस्तु छैन।’