काठमाडौं,२२ भदौ । अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको छ ।
शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको थियो ।
५८औँ मिनेटमा १८ यार्ड बक्सभित्र म्यानमारका रक्षकको ह्यान्ड भएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टी प्रहारका लागि आएका अञ्जनको प्रहार म्यानमारका गोलकिपरको खुट्टामा लागेर फर्किएपछि नेपालले अग्रताको सुनौलो अवसर गुमाएको हो ।
पेनाल्टीमा गोल गर्न चुकेका अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा हरि खड्का र निराजन रायमाझीसँग बराबरी गर्ने अवसरसमेत गुमाए ।
हरि र निराजन दुवैले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अञ्जनले हालसम्म नेपालका लागि १२ गोल गरेका छन् ।
नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।