काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) लाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् ।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्री प्रचण्डले योङ्ग कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ,’– उनले भने ।
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्त गरे । अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनले बताए ।
भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको उनले बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै उनले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानीजस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए ।
छिट्टै चीन भ्रमण जानलागेको बताउँदै उनले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।