Logo

सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन



काठमाडौँ, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले जलवायु परिवर्तनकै कारण नेपालको पूर्वाधारको विकासमा असर देखिएको बताएका छन् ।

बङ्गलादेशको ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको बताए ।

“कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ,”– उनले भने ।

दक्षिण एसियाका खासगरी तीब्र विकासमा अघि बढेका भारत र बङ्गलादेशको अनुभव नेपालका लागि काम लाग्ने उल्लेख गर्दै उनले नेपालले पूर्वाधार विकास तथा पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी गराए ।

सांसद सापकोटाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ आवश्यक रहेको बताए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित नेपाली कांग्रेसका प्रदीपकुमार पौडेल, नेकपा (एमाले) का ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम तथा संसद्को पूर्वाधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।

बङ्गलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसद्भित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । बङ्गलादेशका सभामुख डा.शिरिन शार्मिन चौधरीद्वारा उद्घाटन भएको उक्त सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्