Logo

सर्लाहीको मलङ्गवा क्षेत्रमा कर्फ्यू



काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवा क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । हिजो (शुक्रबार) कृष्णअष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच विवाद भएको थियो ।

दुई पक्षबीच दुढुङ्गा हानाहान झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् ।

आज दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलङ्गवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर शनिबार बिहानैदेखि सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकीरबाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

घटनास्थलमा अहिले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ । प्रदर्शन र ढुङ्गामुढाका कारण आज बिहानैदेखि मलङ्गवा बजार क्षेत्रको पसल बन्द छन् । आज बिहानैदेखि यहाँबाट चल्ने साना तथा लामो दूरीका यातायातका साधन चल्न सकेको छैन ।

आज अपरान्ह ५ बजेदेखि भोलि विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्