काठमाडौं,२४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका लागि पूर्व प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग सुझाव संकलन गरेका छन् ।
आज बिहान सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।
सुझाव दिने क्रममा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कुनै पनि कार्यक्रममा सहभागी हुँदा आफ्नो हाउभाउ ख्याल राख्न आग्रह गरेका छन् ।
हतारमा कुनै पनि काम नगर्न आग्रह गर्दै उनले भने, ‘पछि सच्याउनै नमिल्ने खालको गाह्रो काम, राष्ट्रका लागि पछि नराम्रो हुने काम नगर्नुहोला ।’
अन्य नेताहरूले पनि देश हित हुने समझदारीहरूमा जोड दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।