काठमाडौं,२४ भदौ । नेकपा एमालेले कोशी प्रदेशमा देखिएको संकट टार्न प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले मिल्नुपर्ने बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणकोबारेमा छलफल गर्न डाकेको सर्वदलीय बैठकमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कोशी सरकारको संकट टार्न सबै दलहरु जिम्मेवारपूर्ण ढंगले लाग्नुपर्ने बताए ।
उनले भने,‘प्रदेशसभाका सबै दलहरूलाई त्यहाँको शक्ति सन्तुलनको अवस्था छ । सहकार्यको मोडालिटी विकास गरेर जाऔँ भन्ने छ । सबैलाई कुनै न कुनै हिसाबमा मिलाएर सहमतिको सरकारको प्रयास हुनेछ ।’
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले कोशीमा देखिएको सत्ता संकट हलगर्न प्रमुख दल नेपाली कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेलोस् भन्ने आफूहरुको अपेक्षा रहेको बताए । उनले कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेलेमा आफुहरु संवादका लागि तयार रहेको बताए ।
“संविधान मिच्ने काम भए । त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ,” उनले भने, “जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली कांग्रेसले जिम्मेवार भूमिका खेलोस् । हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ ।”
कोशी प्रदेशमा यतिबेला सत्ताको हानाथापले प्रदेश सभा विघटनको अवस्था पुगेको छ । गत आम निर्वाचनपछि हालसम्म ४ वटा सरकार बनिसकेका छन् । गत साउन १७ गते निर्माण भएको उद्धव थापा नेतृत्वको सरकार गत शुक्रबार सर्वाेच्चले ढालेपछि पुनः हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश सभामा कुनैपनि दलको बहुमत नभएको कारण कार्की नेतृत्वको सरकारले पनि विश्वासको मत पाउने देखिँदैन । कार्की नेतृत्वको सरकार ढलेमा पुनः संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बन्नेछ । उक्त सरकारले पनि विश्वासको मत नपाएमा प्रदेश सभा विघटन भएर मध्यावधि निर्वाचन हुनेछ ।
आम निर्वाचत भएको एक वर्षपनि नपुग्दै पुनः मध्यावधि निर्वाचत हुँदा जनतामा निराशा पैदा हुने भन्दै प्रमुख दलहरु कांग्रेस र एमाले मिलेर कोशीको संकटलाई टार्नुपर्ने आवाज उठिरहेको छ । भने, एमालेका नेताहरुले पनि सत्ता सहयात्राका लागि कांग्रेससँग छलफल थालेका छन् ।