Logo

चीन भ्रमणबारे प्रचण्डलाई बाबुरामको तीन सुझाव



काठमाडौं,२४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज आफ्नो आसन्न चीन भ्रमणबारे छलफलका लागि राजनीतिक दलका शीर्ष नेताहरुलाई सिंहदरबार बोलाएका थिए । प्रधानमन्त्रीले बोलाएको छलफलमा सबैजसो दलका नेताहरु उपस्थित भएपनि नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई भने सहभागी भएनन् ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र भट्टराईबीच सम्बन्ध त्यति राम्रो नभएको बताइन्छ । विशेषगरि आफैले परिकल्पना गरेको समाजवादी मोर्चामा आफ्नो दललाई समावेश नगरेको भन्दै प्रचण्डसँग भट्टराई असन्तुष्ट रहेका छन् । भने, आम निर्वाचनमा गरिएको सहमति अनुसार माओवादी र नेसपाबीच पार्टी एकताका लागि प्रधानमन्त्री दाहालले बेवास्ता गरेको भट्टराईको बुझाई छ । त्यहीकारण पनि आजको बैठकमा भट्टराई उपस्थित नभएको गाईँगुईं चलेको थियो । यद्धपि भट्टराईले भने आफू विशेष कामले गर्दा बैठकमा यपस्थित हुन नसकेको भन्दै ट्वीटरमार्फत प्रधानमन्त्रीलाई तीन बुँदे सुझाव दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई आफ्नो भ्रमणका क्रममा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिन आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री दाहाललाई भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमतिरसम्झौता नगर्नसमेत सुझाव दिएका छन् ।

यस्ता छन् भट्टराईका सुझाव

१.बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसालौं। दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमतिरसम्झौता नगरौं ।

२.एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शीतयुद्ध वा उष्णयुद्धको सन्दर्भमा नेपालले आफ्नो विशिष्ट भू-सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली सन्धिदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका-यूरोप-जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहिरोसँग पर्गेलेर हामीले आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्दछ ।

हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ । यो डोरीमाथिको हिँडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो । यस निम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचारमन्थनबाट राष्ट्रिय रणनीति तय गरौं र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौं ।

३.तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिऊँ ।



प्रतिक्रिया दिनुहोस्