काठमाडौं,२४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले उद्योगी व्यवसायीलाई छानिछानी जेलमा कोच्ने रणनीति लिएको आरोप लगाएका छन् ।
आइतबार एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललिता निवासको जग्गा प्रकरणमा अनाहकमा थुनामा राखिएको भन्दै उनको बचाउमा उत्रिएका छन् ।
ओलीले यति होल्डिङ्स कम्पनी र एमालेलाई जोडेर सत्तारुढ दलका कार्यकताले अनार्गल प्रचार गरेको भन्दै सरकारविरुद्ध फायरसमेत भएका छन् । ओलीले यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको दाबी गरे ।
ओलीले भने, ‘ यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो मान्छे अहिले हवाइजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटल पनि चलाएको छ, हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’