Logo

प्रहरीले दिने रिपोर्टले आत्महत्याको दर बढाएको छः डा.विजय मिश्र



काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रूपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा ६ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार हुने गरेको छ । विश्वमा १५ वर्षदेखि २९ वर्षका मानिसहरुको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । प्राणघातक रोग एचआईभी एड्स, क्यान्सर, मलेरिया, स्तन क्यान्सर र आपराधिक घट्नाबाट भन्दा पनि आत्महत्याबाट धेरै मानिसले ज्यान गुमाइरहेका छन् । यसवर्षको आत्महत्या रोकथाम दिवसको नारा ‘कार्यमार्फत आशा जगाऊँ’ रहेको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्य अभियानको आयोजना र रिपोर्टर्स क्लब नेपालको सहकार्यमा क्लबको साक्षात्कार कक्षमा ‘आत्महत्या रोकथाममा मिडिया र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा डा.विजय मिश्रले सबैभन्दा धेरै आत्महत्या गराउनेको अरोप मिडियालाई लागिरहेको बताए । आफू मिडियाकर्मी पनि भएको बताउँदै उनले पत्रकारहरु पनि आत्महत्याको शिकार भइरहेको बताए । प्रहरीले दिने रिपोर्टमा पत्रकारहरुले अन्धभक्त भएर पत्रकारिता गर्दा पनि आत्महत्या बढेको उनको अरोप छ ।

‘प्रहरीले दिने रिपोर्टमा आफूलाई सजिलो हुनेगरी समाचार बनाइदिन्छ । सहरमुखी अल्छी पत्रकारहरु कसले मेलमा समाचार पठाउँछ र कपी पेष्ट गर्ने कारणले प्रहरीले पत्रकारको काँधमा बन्दुक राखेर अरुलाई गोली हानिरहेको हुन्छ, । मतलब अरुलाई बदनाम गर्नेगरि समाचार लेखिरहेको हुन्छ,’– उनले भने ।

खोटाङमा मदन राईले खोलेको विद्यालयमा आत्महत्या कसरी गर्न गरिन्छ भनेर प्राक्टिकल हुने गरेको उनको दाबी छ । एकपटक प्राक्टिकलमा सहभागी भएको विद्यार्थीले जीवनमा कहिले पनि आत्महत्या नगर्ने उनीहरुको दाबी रहेको डा.मिश्रले बताए ।

आत्महत्या न्युनीकरणको विषय पाठ्यपुस्तकमा राख्न आवश्यक रहेको उनको भनाई छ । पत्रकारहरुले आत्महत्या र बलात्कारको न्युजलाई प्राथमिकता दिएर समाचार सम्प्रेसन गर्दा पनि यसमा बृद्धि भएको उनको दाबी छ । आत्महत्या न्युनीकरणका लागि प्रहरी, मिडिया र राजनीतिक व्यक्तित्वहरुले अभियान अगाडि बढाउन आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्