Logo

सहमहामन्त्री पाण्डेलाई धमलाको प्रश्न, ‘विपीको नाममा कांग्रेसले कहिलेसम्म व्यापार गरिरहन्छ ?’



काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीले विपी विचार नछोडेको र यस पटक अझ विशेष किसिमले विपीको सम्झना गरेको बताएका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विपी एउटा आस्था भएको दाबी गरे ।

‘विपीको नाममा कांग्रेसले कहिलेसम्म व्यापार गरिरहन्छ ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘हामीले विपीलाई यस पटक अझ विशेष किसिमले सम्झेका छौं । सम्झिनुको अर्थ उहाँको नाममा व्यापार गर्ने होईन । विपी कोइराला एउटा आस्था हो । हामीले नीतिगत हिसाबले विपीको सपना चकनाचुर पारेका छैनौं । हामी त्यसमा प्रतिवद्धताको साथ उभिएका छौं ।’

२०७२ सालमा संविधान सभाबाट जारी भएको नेपालको संविधान र कांग्रेसको घोषणा पत्र विपीले देखाएको बाटोमा नै रहेको उनको दाबी छ । विपीले देखाएको बाटो लोकतान्त्रिक समाजवाद भएको बताउँदै उनले कांग्रेस त्यसबाट च्युत नभएको बताए ।

उनले कांग्रेसले विभिन्न गतिविधिमार्फत विपी विचारलाईअझ बलियो बनाउँदै लगेको दाबी गरे । कांग्रेस संवैधानिक राजसंस्था त्यागेर गणतन्त्रमा आएको सन्दर्भ उल्लेख गर्दै उनले विपी विचारको मूलमर्म नागरिकको अधिकारलाई केन्द्रविन्दुमा राख्नु भएको बताए ।

नागरिकका अधिकारको रक्षा गर्नेक्रममा राजा र राजतन्त्र सजिलो भएर आउँछ, संवैधानिक राजा रहँदा फरक पर्दैन भने त्यसलाई पनि स्वीकार गर्न सकिने विपीको धारणा रहेको उनले बताए । विपी विचारको लक्ष्य र साध्य भनेको नागरिकको अधिकार नै भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot