Logo

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै बहुमत सदस्यले दिए निवेदन



काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आवद्ध सदस्य एवं क्लब अध्यक्षहरुले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका छन् ।

८६ सदस्यीय साधारण सभाका ४९ जनाले हस्ताक्षर गरेर अध्यक्ष-महासचिवको बर्खास्ती माग गरेका हुन् । अब एन्फा कार्यसमितिको बहुमतले अध्यक्षलाई अस्थायीरुपमा अर्को साधारणसभासम्मलाई निलम्बन गर्न सक्नेछ भने महासचिवलाई बर्खास्त गर्न सक्नेछ । अध्यक्षलाई बर्खास्त गर्न भने साधारणसभाको दुईतिहाइ चाहिन्छ ।

एन्फा कार्यसमिति र साधारणसभा दुवैमा अध्यक्ष नेम्वाङ स्पष्ट अल्पमतमा परेका छन् । यसले उनीमाथि नैतिक संकट उत्पन्न भएको छ । अल्पमतको अध्यक्षले कुनै पनि निर्णय गराउन सक्ने हैसियत राख्दैनन् । त्यसैले आफैं राजीनामा दिने वा साधारण सभाको सामना गर्ने दुई विकल्प उनीसामू छन् ।

एन्फाले विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारण सभा गर्नुपर्ने माग गरेका थिए ।

तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजे पनि बहुमत सदस्य उपस्थित नभएपछि सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार पनि संस्थापनइतरका बहुमत सदस्यले अध्यक्ष र महासचिवलाई नै अविश्वासको प्रस्ताव राखेपछि साधारण सभा सुरु हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्