काठमाडौं,२६ भदौ । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बुधबारमात्रै हुने भएको छ।
उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो।
नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्।
१५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङको सचिवालयले जनाएको छ । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।
एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार बिहानदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ।
नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।
उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।